नेपालका प्रथम राष्ट्रपति डा. रामवरण जनताका प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान जारी गर्ने सौभाग्य पाए । संविधान अहिले कार्यान्वयनको चरणमा छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जनप्रतिनिधिहरूले राज्य सञ्चालन गरिरहेका छन् । पुुर्वराष्ट्रपतिको दैनिकीचाहिँ कसरी बित्दै छ त ? पेरिफेरिमा रहेर गरेको कुराकानीको सम्पादित अंश ।
बिहान प्रायः साढे ४ बजे उठने गर्छु । नित्य कर्म सकेपछि बिहान ८ बजेसम्म योगादेखि विभिन्न व्यायम गर्ने गर्छु । जुन कार्य स्वस्थ्य रहनका लागि अपरिहार्य जस्तै भएको छ । यदि नियमित रूपमा व्यायम गरिन भने मेरो स्वास्थ्य समस्या आइहाल्छ ।
व्यायम सकेपछि चिया, कफीसँगै पत्रपत्रिका पढ्छु । अनि १२ बजेतिर बिहानको खानपिन गरेपछि केहीबेर आराम गरेर भेट्न आएका साथीभाइलाई समय दिन्छु । कतैबाट कुनै कार्यक्रमको निमन्त्रण आएमा ति कार्यक्रमहरू सहभागी हुने गर्दछु । यसका अलावा फुर्सद निकालेर विभिन्न पुस्तकहरू पढ्ने गर्दछु । साथै आफ्नो जीवनको आत्मवृतान्तका बारेमा समेत तयारी गरिरहेको छु ।
म सामान्य परिवारको व्यक्ति हुँ । राजनीतिमा लागेर देशको राष्ट्रपति, प्रधानमन्त्री बन्छु होला भनेर मैले सपनामा पनि सोचेको थिइन ।
खासगरी बीपी कोइरालाको संगतले गर्दा म बिस्तारै राजनीतिमा होमिन पुगेँ । शुरूमा बिस्तारै राजनीतिमा होमिएको भएपनि पछि पूर्ण रूपमा होमिन पुगे । यसरी होमिँदै गर्दा पार्टी तथा सरकारको जिम्मेवार निकायमा बसेर काम गर्ने अवसर पाएँ । त्यतिबेलासम्म पनि यो स्थानमा पुगौंला भन्ने मैले सोचेको थिइनँ । तर राजनीतिक घटनाक्रमसँगै मुलुकको प्रथम राष्ट्रपति बन्न पुगेँ ।
विश्वका अन्य मुलुकमा पूर्व राष्ट्रपति भइसकेका व्यक्तिहरू सामाजिक सेवादेखि आफ्नो पुरानो पेशामा फर्किएका थुप्रै उदाहरणहरू छन् । मेरो व्यक्तिगत जीवनमा भन्नुहुन्छ भने सामाजिक सेवादेखि पुरानै पेशामा फर्कने सोच मभित्र पनि छ । तर कुन माध्यमबाट अगाडि बढौं भन्नेमा अन्यौल भइरहेको छ ।
अमेरिकालगायत विश्वका अन्य मुलुकहरूमा हेर्ने हो भने पूर्व राष्ट्रपतिहरूलाई सामाजिक सेवामा लाग्न राज्यले नै बजेट उपलब्ध गराएको अवस्था छ । जसका कारण उनीहरू सहज रूपमा सामाजिक सेवामा समर्पित भइरहेको अवस्था छ । तर हामीकहाँ उक्त कार्यको थालनी हुन सकेको छैन ।
सामाजिक सेवा गर्ने भन्दैमा राष्ट्रपति भइसकेको व्यक्ति एनजीओ/आईएनजीओ खोलेर हिँड्न त्यति सुहाउला जस्तो लाग्दैन । तैपनि यो विषयमा सोच्दैछु । बुद्धिजीवि र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग परामर्श गर्दैछु ।
पुरानो पेशामा फर्कने विषयमा भने शारीरिक अवस्था लगायत चिकित्सा विज्ञानमा भएका नयाँ प्रगतिका कारण केही समस्या देखेको छु ।
पुरानो पेशामा फर्किएर कुनै बिरामीको उपचार गरेँ भने उक्त बिरामीलाई नियमित परीक्षण गरिरहनु पर्छ । उमेर र स्वास्थ्य अवस्थाले गर्दा मेरा लागि कठिन बन्दै जान थालेको छ । त्यही कारणले गर्दा मैले पुरानो पेशामा फर्कने आँट नगरेको हो । यद्यपि मेडिकल कलेजलगायत अन्य क्षेत्रमा आफूसँग भएको ज्ञान बाँड्ने सोच भने बनाएको छु ।
नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको मुलुक हो । यो मुलुकमा जो जहाँ बसेपनि हिमाल, पहाड र तराई जोडिनु जरुरी छ । मुलुकलाई संघीयतामा लैजाँदै गर्दा दलका नेताहरूले गम्भीर भएर सोच्नु पर्दथ्यो । तर त्यसो हुने सकेन । अझै पनि केही बिग्रिएको छैन । भावनात्मक रूपमा हिमाल, पहाड र तराई जोड्नतर्फ ध्यान दिनुपर्दछ ।