एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ को खेलमा फरवार्ड पाउलो डिबालाले ह्याट्रिक प्रहार गरेपछि युभेन्ट्सले योङ ब्वाइजलाई ३-० ले पराजित गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा रहेका कारण डिबालाले पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए ।

उनले उक्त अवसरको सदुपयोग गर्दै खेलको पाँचौ मिनेटमा नै गोलको खाता खोले । डिबालाले लिओनार्डो बोनुचीको क्रसलाई सदुपयोग गर्दै युभेन्ट्सको लागि गोलको खाता खोलेका थिए ।

पहिलो हाफको ३३ औं मिनेटमा युभेले डिबालाकै माध्यमबाट अग्रता दोब्बर पार्यो । मिडफिल्डर ब्लेस माटुइडीको शक्तिशाली प्रहारलाई गोलरक्षकले राम्रोसँग बचाउन सकेनन् । त्यहीं फर्केर आएको बललाई पोस्टको दिशा दिँदै डिबालाले युभेलाई २ गोलले अगाडी बढाए । पहिलो हाफमा थप अवसर सदुपयोग गर्न नसक्दा खेल २-० रहेको थियो ।

दोस्रो हाफमा युभेले आक्रामक रणनीति जारी राख्दै तेस्रो गोल गर्न सफल भयो । लगातार पास खेलेर बनाएको मुभमा अन्तिम प्रहार डिबालाले गरेका थिए । ६९ औं मिनेटमा डिबालाले ६ यार्ड बक्सभित्र खाली पोस्टमा गोल गरेका थिए । उनलाई अन्तिम पास जुआन क्वाडराडोले मिलाएका थिए । त्यसको केहि बेरमै योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । ३ मिनेटको अन्तरमा मोहमद अलि कामराले दोहोरो पहेंलो कार्ड पाएपछि बाहिर गएका थिए ।

यस जितसँगै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गरेको युभेन्ट्सले अर्को खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो पनि त्यस खेलका लागि उपलब्ध हुने छन् । यसअघि पनि रोनाल्डो रियल बाट म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा खेलिसकेका छन् ।