भोजपुर – निर्माणाधीन इस्टर्न जलविद्युत्  आयोजनाको सेयर स्थानीयका लागि खुला गरिएको छ । ५ मेघावाटको आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत हुने गरी आयोजनाबाट प्रभावित स्थानीयका लागि सेयर खुला गरिएको आयोजनाले जनाएको छ ।

प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय, आयोजनाका पदाधिकारी र स्थानीयको संयुक्त छलफलबाट प्रभावित क्षेत्रका स्थानीयले उक्त आयोजनाको १० कित्तादेखि ३० हजार कित्ता (एक हजारदेखि ३० लाख)सम्म सेयर हाल्न पाउने व्यवस्था गरिएको हाइड्रोपावरले जनाएको छ ।

हाइड्रोपावरको कुल एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीयका लागि कुल ६ करोड २० लाख बराबरको सेयर दिन सकिने आयोजनाका अधिकृत दीपेन राईले जानकारी दिए ।

उनले भने, ‘आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत सेयरमा उनीहरू हकदार रहने व्यवस्था छ ।’

हालका लागि स्थानीयको हकमा १० प्रतिशत सेयर खुलाइए पनि आगामी मंसिरबाट जिल्लाभर नै सेयर खुलाइने जनाइएको छ । जिल्लामा आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरी सेयर खुलाउने व्यवस्था गरिएको यो पहिलोपटक हो ।

कानुनी रूपमा वैधता रहने गरी भोजपुरको नागरिकता भएका प्रभावित क्षेत्रका उपभोक्ताका लागि उक्त सेयर खुलाइएको हो ।