एजेन्सी – इन्ग्लिश क्लब लिभरपुल युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा लिभरपुल इटालियन क्लब नेपोलीसंग १ – ० ले पराजित भएको हो ।

नेपोलीलाई जित दिलाउन लोरेन्जो इन्सिगनेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम मिनेटमा लोरेन्जोले गोल गरेका थिए । लोरेन्जोले जोसे मारियाको पासमा उत्कृष्ट गोल गरेका थिए ।

पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई  हराउन सफल लिभरपुल नेपोलीविरुद्ध निरिह देखिएको थियो । लिभरपुलले केहि गोलको अवसर समेत खेर  फालेको थियो ।

यो हारसंगै समूह ‘सी’ को लिभरपुलले २ खेलबाट ३ अंक जोडेको छ । र, दोस्रो स्थानमा छ । नेपोली २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

पिएसजी ३ अंकसहित तेस्रो स्थानमा छ । यस समूहमा १ अंक जोडेको रेड स्टार बेलग्रेड पुछारमा छ ।