काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको निम्ति न्याय माग गर्दै आज सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरिएको छ।
घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। प्रदर्शनकारीले गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरु विरुद्ध नारा लगाएका थिए।
विभिन्न पेशा तथा संस्था आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका थिए। उनीहरु योजनाबद्ध रुपमा ‘छापामार शैली’मा ब्यानरसहित गेटमा पुगेका थिए। अन्य बेलामा जस्तै स्वभाविक रुपमा आउजाउ चलिरहेको सिंहदरबारमा अघिल्तिर एउटा समूह ‘निर्मलाको निम्ति न्याय’ भन्दै प्रदर्शनमा उत्रिएपछि प्रहरी अन्योलमा परेको थियो।
प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए।