एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । युरोपा लिग अन्तरगत बिहिबार राति भएको खेलमा चेल्सीले हंगेरीको क्लब भिडी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

चेल्सीलाई जिताउन अल्भेरो मोराटाले एकमात्र गोल गरे । भिडीलाई खेलभर दवावमा राखेपनि चेल्सीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । आठौं मिनेटमा चेल्सीले अग्रता लिने मौका गुमाएको थियो । इमर्सनको प्रहार क्रसबारबाट बाहिरिएको थियो ।

२३औं मिनेटमा पेड्रोको प्रहार भिडीका गोलरक्षक थोमस टुचभेलले मुस्किलले बचाएपछि चेल्सी अग्रता लिनबाट चुकेको थियो । ३९औं मिनेटमा चेल्सीले पेनाल्टीको अपिल गरेपछि रेफ्रीले त्यसलाई दिएन ।

पहिलो हाफको अन्त्यतिर भिडीका नेगोको प्रहार चेल्सीका गोलरक्षक किपाले सहजै बचाएका थिए । दोस्रो हाफको शुरुमै नेगोले अर्काे मौका खेर फालेको थियो । ६१औं मिनेटमा मिलानोभले अर्काे मौका खेर फालेको थियो ।

दोस्रो हाफमा केही सुस्त देखिएको चेल्सीले अन्ततः ७०औं मिनेटमा गोल गर्न सफल भएको थियो । विलियनको पासमा अल्भेरो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

७७औं मिनेटमा इडेन हाजार्डको फ्रिकिक प्रहार पोस्टमा लागेर फर्कदा चेल्सीले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो । ८३औं मिनेटमा भिडीले बराबरी गोल गर्ने मौका खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले १–० को जित निकाल्न सफल भयो । लगातार दोस्रो जितसँगै चेल्सी समूह ‘एल’ मा ६ अंका जोडेर समूहको शीर्ष स्थानमा छ । चेल्सीले यसअघि पाओक एफसीमाथि पनि १–० कै जित निकालेको थियो ।

बिहिबार राति नै भएको यो समूहको अर्काे खेलमा पाओक एफसीले वेट बोरिसोभमाथि ४–१ को सहज जित निकाल्यो । पाओकको जितमा लियो जाभाले दुई तथा एलेकसान्डार प्रिजोभिक र डिमिट्रियस पेलकासले समान १ गोल गर्दा बोरिसोभले जोसे एन्जलबाट एक गोल उपहार पाएको थियो । जितसँगै पाओक ३ अकं जोडेर दोस्रो तथा बोरिसोभको ३ अंक रहेपनि तेस्रो स्थानमा छ । अंक जोड्न नसकेको भिडी पुछारमा छ ।