एजेन्सी – युरोपा लिग अन्तर्गत बिहिबार भएको खेलमा जर्मन गोलरक्षक लोरिस कारियसले फेरी गल्ति गरेका छन् । लिभरपुलबाट लोनमा बेसिक्टास पुगेका उनले माल्मोविरुद्ध २-० को हारमा गल्ति गरेका थिए ।

गत सिजन च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडविरुद्ध गल्ति गरेपछि रियलले सहजै उपाधि जितेको थियो । त्यसयता टोलीमा उपस्थित नरहेका कारियस टर्किस क्लबबाट खेल्दै आएका छन् ।

बेसिक्टासका लागि दोस्रो युरोपेली खेलमा खेलिरहेका कारियसको गल्तीमा माल्मोले अग्रता लिएको थियो । माल्मोका खेलाडीले दायाँ विङ्गबाट गरेको क्रसमा कारियस झुक्किएपछि उनले बचाउन खोजेको बल सिधै आफ्नो पोस्टतर्फ पठाएका थिए ।

क्रस बक्सभित्र आउने क्रममा आफ्नो डिफेन्सलाई लागेपछि झुक्किएका उनले पन्च गर्ने धुनमा आफ्नो पोस्टमा बल पठाए । गोल भने केनर एर्किनको नाममा आत्मघाती गोलको रुपमा दर्ता भएको छ । अघिल्लो खेलमा जित दर्ता गरेको बेसिक्टास यस खेलमा पराजित भएपछि शीर्ष स्थानमा जान सकेन । समूहको सबै टोलीको समान ३ अंक रहेको छ ।

सिजनको सुरुआतमै बेसिक्टास पुगेका कारियसले यसै साता क्लबको लागि पहिलो क्लिन सिट राखेका थिए । उनले लिभरपुलमा सुरुआती रोजाइमा मौका नपाउने पक्का भएपछि क्लब छाड्ने निर्णय गरेका थिए । उनलाई बेसिक्टासले स्थायी अनुबन्धन गर्ने विकल्पसहित लोनमा ल्याएको हो ।