काठमाडौं – दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन २४ असोजदेखि ३१ असोजसम्म काठमाडौं आउन रोक लगाउने भएको हो ।

दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म अत्यधिक हुने भएकाले नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

ठूला सवारीले बाटो जाम बनाउने भएकाले दसैंका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै ठूला सवारीलाई रोक लगाइएको विभागको भनाइ छ । सो सडकखण्डमा अरू बेला पनि हरेकदिनजसो घण्टौंसम्म जाम हुने गर्छ । त्यस्तो जाममा परेर दसैंमा घर जाने यात्रुलाई समस्या नहोस् भन्दै सरकारले यस्तो निर्णय गरेको सूचना अधिकारी उपाध्याले बताए ।

नारायणघाट–काठमाडौं सडकखण्डमा आवतजावत गर्ने यात्रुहरूले ठूला मालवाहक सवारीसाधनका कारण घण्टौं जाममा पर्नुपर्ने बाध्यता छ । यस्तो समस्या अरू बेलाभन्दा दसैंका बेला बढी हुने गरेको छ । त्यसैले सर्वसाधारणलाई सहज रूपमा आवतजावत गर्न ठूला  सवारीलाई प्रतिबन्ध लगाइएको हो । विभागका अनुसार ठूला मालवाहक सवारीसाधनलाई २४ असोजदेखि असोजदेखि ३१ असोजसम्म नारायणघाटमै रोकिनेछ ।

त्यसैगरी, सरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गर्न सार्वजनिक यातायातलाई रुट परमिट खुला गरेको छ । गत बिहीबार दैनिक रूपमा चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ सकिएको छ । यस्तो अवस्थामा अप्ठ्यारो परेका यात्रुलाई ओसार्न सक्ने गरी विभागले रुट परमिट खुला गरेकोे हो । विभागले काठमाडौंबाहिर जाने यात्रुका लागि टिकट नपाए पनि उपत्यकाभित्र चल्ने सवारीसाधनले ती यात्रुलाई आफ्नो गन्तव्यसम्म पु¥याउन सक्नेछन् ।