एजेन्सी- जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिख घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकसँग ३-० ले पराजित भएको छ ।

खेलको १० औं मिनेटमा अलासन प्लेले गोल गर्दै बोरुसियालाई अगाडी बढाएका थिए । लगत्तै जर्मन राष्ट्रिय टोलीका सदस्य समेत रहेका लार्स स्टीन्डलले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । प्याट्रिक हर्मनले नियमित समयको २ मिनेट बाँकी हुँदा गोल गर्दै ३-० को जित पक्का गरेका थिए । म्युनिखले घरेलु मैदानमा पराजित भएसँगै जर्मन टोलीले पछिल्लो ३ खेलमा जित दर्ता गर्न सकेको छैन ।

खेलदौरान बल पोसेसनमा बलियो पकड बनाएपनि म्युनिखले आक्रामक रुपमा सफलता हात पार्न सकेन । टोलीका लागि फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्न सकेनन् भने आर्जेन रोबेन र हामेस रोड्रीग्वेज अनि खासै जमेका देखिएनन् । नयाँ प्रशिक्षक निको कोभाचको आगमनसँगै टोलीले खराब प्रदर्शन गर्दै आएको छ ।

अंक तालिकामा बायर्न पाँचौ स्थानमा रहेको छ । ७ खेलमा ४ जित, १ बराबरी र २ हार भोगेको म्युनिख अंक तालिकामा शीर्षस्थान भन्दा ९ अंक पछाडी छ । शीर्ष स्थानमा १७ अंक बोक्दै लिगमा अपराजित एकमात्र टोलीको रुपमा बोरुसिया डर्टमुन्ड रहेको छ ।

क्याटलान क्लब बार्सिलोनाबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका फरवार्ड पाको अल्कासेरले वैकल्पिक खेलाडीको रुपमा ह्याट्रिक गरेपछि जर्मन लिगमा अग्सबर्ग ४-३ ले पराजित भएको छ ।

अल्कासेरले खेलको अन्तिम प्लेअनुरुप प्राप्त गरेको फ्रिकिकलाई गोलमा परिणत गर्दै जित दिलाएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम १० मिनेटमा ४ गोल सम्भव भएको थियो । खेलमा २-१ ले पछाडी रहेपनि बोरुसियाले ३-२ को अग्रता लिन सफल रहेको थियो । अग्सबर्गले खेलमा बराबरी गोल फर्काएपनि अन्तिम समयमा अल्कासेरले उत्कृष्ट फ्रिकिक प्रहार गरे ।

अग्सबर्गका लागि अल्फ्रेड फिनोबोगासनले पहिलो हाफमा अग्रता दिलाएका थिए ।अल्कासेरले मैदान प्रवेश गरेको पहिलो टचमा नै बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा मैदान प्रवेश गरेका फरवार्डले ६२ औं मिनेटमा खेल १-१ को स्थितिमा ल्याए ।फिलिप म्याक्सले गोल गर्दै अग्सबर्गलाई अग्रता दिलाए । ८० औं मिनेटमा अल्कासेरले पुन: बराबरी गोल गरे । त्यसको केहिबेरमै उअस सिजन लिगमा पहिलो पटक खेलिरहेका मारियो गोट्जेले बोरुदियालाई अग्रता दिलाए ।

माइकल ग्रेगोरिशले ८७ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । तर अल्कासेरले इन्ज्युरी समयको पाँचौ मिनेटमा वालको माथिबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै जित पक्का गरेका थिए । लिगको ७ खेलमा बोरुसियाले ५ जित र २ बराबरी खेलेको छ । १७ अंक जोडेको टोली शीर्ष स्थानमा ३ अंक र बायर्नभन्दा ४ अंकले अगाडी रहेको छ ।