एजेन्सी । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा ३–२ को रोमाञ्चक जित निकालेको हो । युनाइटेडको जितमा हुवान माटा, एन्टोनी मार्सियल र एलेक्सिस साञ्चेजले गोल गरे । न्यु क्यास्टलमा केन्डी र योसीनोरी मुटोले गोल गरे ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड शुरुवाती १० मिनेटमा नै २–० ले पछि परेको थियो । सातौ मिनेटमा केन्डी र १०औं मिनेटमा योसीनोरीले गोल गरेपछि युनाइटेड शुरुवातमै २–० ले पछि परेको थियो । तर, त्यसपछि युनाइटेडले उच्च प्रदर्शन गरेपनि गोल गर्नको लागि ७०औं मिनेट कुुर्नु परेको थियो ।

७०औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिएका थिए । ७१औं मिनेटमा रेटचिको प्रहकार डेभिड डे जियाले रोक्दै युनाइटेडको संकट टारेका थिए । त्यसको ६ मिनेटपछि एन्टोनी मार्सियलले गोल गरेपछि युनाइटेडले खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । पल पोग्वाको ब्याक हिल पासमा मार्सियलले सहजै गोल गरेका थिए । ९०औं मिनेटमा वैकल्पिक खेलाडी एलेक्सिस साञ्चेजले गोल गर्दै युनाइटेडलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

त्यसअघि ५७औंमिनेटमा न्यु क्यास्टलले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । यस्तै युनाइटडेका पल पोग्वा र मार्सियलले गोलका सुन्दर मौका खेर फालेका थिए । न्यु क्यास्टलमाथिको जितसँगै युनाइटेड ८ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्यु क्यास्टल समान ८ खेलबाट दुई अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।