एजेन्सी – विश्वकप विजेता, किलियन एम्बाप्पेले पिएसजीको जितमा ४ गोल गरे। फ्रेन्च लिग वोन अन्तर्गत घरेलु मैदानको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्यो।

पिएसजीका लागि सुरुआती ११ मा परेका १९ वर्षीय फरवार्ड एम्बाप्पेले दोस्रो हाफमा १३ मिनेटको अन्तरमा ४ गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए। खेलको ६१, ६६, ६९ र ७४ औं मिनेटमा उनले गोल गरे।

त्यसअघि पहिलो हाफको ९ औं मिनेटमा नेयमारको पेनाल्टी मार्फत पिएसजीले अग्रता बनाएको थियो। पहिलो हाफमै ३५ औं मिनेटमा पिएसजीका प्रेस्नेल किम्पेम्बेले सोझो रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भयो। खेलको २६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका लियोनका लुकास टुसार्टले ४५ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाएपछि लियोन पनि १० खेलाडीमा सिमित भयो।

लिग वोन अन्तर्गत ९ खेलमा शत प्रतिशत जित निकालेको पिएसजी २७ अंक सहित लिगको शिर्षस्थानमा छ भने छैटौं स्थानमा लियोनको ९ खेलमा १४ अंक छ।