काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख अध्यक्ष मेंग हङवेइ चीनबाट पक्राउ परेका छन् । सम्पर्कविहिन भएका मेंगकी श्रीमतीले उनको जीवनरक्षाको माग गरिरहेका बेला उनलाई चीनबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । फ्रान्स सरकारले यसबारे अनुसन्धान सुरु गरेको थियो । इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ ।

चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ ।

कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो ।

९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् ।