काठमाडौं । कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले निर्मलाको सुरुवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायब निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी (प्रस्तावित डीआईजी) शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको बताए । चाँदनीले साउन ११ गते निर्मलाको शव भेटिएपछि उनले निर्मलाले लगाएको सुरवाल खोलेर पखालेकी थिइन् ।

सुरवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ । निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् ।

चाँदनी र धामी निलम्बनमा परेसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ ।