काठमाडौं । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ  । नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विषयले प्रवेश पाएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले उक्त क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी बैठकलाई गराएका छन् । एक नेताका अनुसार पार्टीले आवश्यकता देख्छ भने आफू पद छोड्न तयार रहेको भनी मानन्धरले आफूलाई बुझाएको पत्र अध्यक्ष ओलीले बैठकमा पेस गरेका थिए ।

‘अन्य क्षेत्रको प्रयास सफल नभएपछि अब काठमाडौं ७ विकल्पका रूपमा आएको छ, अध्यक्षले नै सांसदबाट आएको सहमतिबारे बैठकलाई जानकारी गराउनुभएको छ,’ नेकपा सचिवालय स्रोतले भन्यो । सांसद मानन्धरले भने राजीनामा दिने वा ओलीलाई बुझाएको सहमतिपत्रबारे बताउन चाहेनन् । पार्टीले गर्ने कुनै पनि निर्णय मान्न आफू तयार रहेको उनले बताए ।

‘म पार्टीकै प्रतिनिधिका रूपमा निर्वाचित भएको हुँ,’ मानन्धरले भने, ‘पार्टीले आवश्यकता देखे म पार्टीको निर्णय कार्यान्वयन गर्न तयार छु ।’

गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका थिए । मुलुकैभर वाम गठबन्धनको लहर चलेका बेला त्यही गठबन्धनका सूत्रधार मानिएका गौतम भने पराजित भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रको पकड मानिएको क्षेत्रमा भएको हारलाई गौतमले स्वाभाविक मानेका छैनन् ।

उनले पार्टीभित्रैको अन्तर्घात र विदेशी शक्तिहरूका कारण हारेको भन्दै पार्टी बैठकमा बताएका थिए । त्यसपछि उनले चुनाव हार्नुका कारणबारे छानबिन समिति नै बनाइएको थियो ।

‘वामदेव गौतम प्राविधिक रूपमा हार्नुभएको हो, वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूले हराए भन्ने उहाँको निकर्ष छ,’ गौतम निकट सांसद बलराम बाँस्कोटाले भने, ‘यस्तो वामपन्थी लहर चलेका बेला उहाँजस्तो नेतालाई हराइयो, विखण्डनकारी शक्तिहरूसमेत लागे ।’

तीन पटक उपप्रधानमन्त्री भइसकेका गौतमको आकांक्षा प्रधानमन्त्रीसम्म बन्ने थियो । उनले चुनाव प्रचारमा त्यस्तै दाबी गरेका थिए ।- कान्तिपुर दैनिक