काठमाडौं । सुदूरपश्चिम प्रदेशकाे राजधानीका नाममा गोदावरीको वन विनास गर्न नहुने भन्दै धनगढी उपमहानगर-५ घर भई काठमाडौं महानगरपालिका-२९ वस्ने अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
जोशीले संघीय मन्त्रीपरिषद्, सुदूरपश्चिमका मुख्यमन्त्री, प्रदेश सभामुख र राजधानी सिफारिस गर्न गठित विशेष समिति संयोजक तारा लामा तामाङलाई प्रतिवादी बनाएर रिट दायर गरेकी हुन्।
प्रदेश सरकारले आफ्नो लागि प्रदेश राजधानी चयन गर्न पाउने कुरामा कुनै विसहमती नभए पनि प्रदेश राजधानी स्थापना गर्ने नाममा विद्यमान वन विनाश गर्न नपाउने भएकाले रिटमा अन्तरिम आदेश माग गरिएको छ।
तत्कालीन प्रदेश ७ को असाेज १२ गतेको प्रदेश सभाले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीको तेघरी वनमा राख्ने प्रस्ताव दुई तिहाईले पारित गरेको थियो। त्यसमा विपक्षी कांग्रेस र राजपाले भाग लिएका थिएनन्। उनीहरुले त्यसप्रति आपत्ति जनाएका छन्।