काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता हुन सफल टोलीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले साफमा उपविजेता बन्न सफल यू–१८ चेलीलाई जनही ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार राति भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित हुदै उपविजेतामा सीमित बनेको थियो ।

नेपाली युथ १८ टोली भुटान एयरबाट बुधबार स्वदेश फर्कदैछ । टोली २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने एन्फाले जनाएको छ ।

नेपालले उपाधिको दावेदार मानिएको भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।