एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटाली र युक्रेनले बराबरी खेलेको छ । मैत्रीपूर्ण खेल अन्तरगत बुधबार राति भएको खेलमा इटाली र युक्रेनले १–१ गोलको बराबरी खेलेको हो ।

इटालीका फेडरिको बर्नाडस्चीले गोल गर्दा युक्रेनका मालिनोभस्काइले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो ।

५५औं मिनेटमा फेडरिकोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएको थियो । फेडरिकोले एलेसान्द्रो फ्लोरिन्जेको पासमा गोल गर्न सफल भएका थिए । तर, इटालीको त्यो अग्रता लामो समय टिकेन । ६२औं मिनेटमा मालिनोभस्काइले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल १–१ गोलका बराबरीमा सकियो ।

इटालीले गत मे मा साउदी अरेवियालाई २–१ ले पराजित गरेयता जितको स्वाद चाख्न पाएको छैन । पछिल्ला पाँच खेलमा इटालीले १ खेलमा मात्र जित हात पार्दा समान दुई बराबरी र दुई हार बेहोरेको छ । इटाली फ्रान्ससँग ३–१ले तथा पोर्चुगलसँग १–० ले पराजित भएको थियो । नेदरल्यान्ड र पोल्यान्डसँगसमान १–१ गोलको बराबरी खेलेको थियो ।

इटालीले अब युइएफए नेसन्स कपमा १५ अक्टोवरमा पोल्यान्डसँग खेल्दैछ ।  यता, इटालीसँगको बराबरीसँगै युक्रेनले पछिल्ला पाँच खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो । युक्रेनले युइएफए नेसन्स कपमा १७ अक्टोबरमा चेक रिपब्लिकसँग खेल्दैछ ।

मैत्रीपूर्ण खेलमा आज राति वेल्स विरुद्ध स्पेन तथा फ्रान्स विरुद्ध आइसल्याण्डबीचको खेल हुदैछ ।