एजेन्सी । अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा बाढीको खतरा बढेको छ।
आँधीको शक्ति मापन गरिने मापदण्ड अनुसार निकै शक्तिशाली क्याटगोरी फोरमा राखिएको उक्त माइकल नाम दिइएको आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।
आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान भनिए पनि कैयौँ गएनन्।
फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिएका छन्।उनले हाल घरमै रहिरहेका मानिसहरूलाई अब भने बाहिर ननिस्कन भनेका छन्।
स्कूल तथा राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन्। फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गरेको छ। छेउछाउका एलाबामा तथा जोर्जिया राज्यले पनि त्यस्तै स्थितिको घोषणा गरेका छन्।