काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित गर्दै केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने कांग्रेसले जनाएको छ ।

स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औँ दिन शोकसभा गर्ने निर्णय कांग्रेसले गरेको छ । नेता बाँस्तोलाको शनिबार राति ललितपुर खुमलटारस्थित आफ्नै निवासमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्काघात भई उनी अचेत भएका थिए । त्यसैबेलादेखि नेता बास्तोलाको उपचार भइरहेको थियो ।