काठमाडौं। शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणकाे अवलाेकनका लागि खुला गरिएको हो।

नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिएको छ।

विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझावसहितको प्रतिवेदनका आधारमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो व्यवस्था गरेकाे हो।

अवलोकनका लागि राखिने श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा लिएका थिए। राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो।

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा पहिरिएका थिए।

 नारायणहिटी दरबार सङग्रहालय २०६५ फागुन १६ गतेबाट सर्वसाधारणले पनि अवलोकन गर्न पाउँछन्। पछिल्लो एक दशकमा संग्रहालयमा २९ लाख १४ हजार ७ सय १७ जनाले अवलोकन गरेको सङग्रहालयले जनाएको छ।