काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतको वृद्धि हो  ।

पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको छ ।

नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभए पनि तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च हो । अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

तीन महिनामा करिब ४ खर्ब (३ खर्ब ९७ अर्ब) रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार साढे ४१ प्रतिशतले बढी हो । सोही अवधिमा आयात साढे ४३ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । आयातको तुलनामा निर्यात करिब तीन गुणा बढी हो ।

तीन महिनामा मुलुकबाट २३ अर्ब ७४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । गत वर्षको सोही अवधिको तुलनामा निर्यात १६ प्रतिशतले मात्र बढेको भन्सार विभागको तथ्यांक छ ।

बढदो व्यापार घाटा नियन्त्रणका लागि सरकारले स्वदेशी उत्पादन प्रोत्साहन गर्ने खालका नीति ल्याउनुपर्ने अर्थविद्हरूको सुझाव छ ।