एजेन्सी । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई उसैको मैदानमा २ – १ ले हराएको हो ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो चम्कदा युभेन्ट्सले सुरुवाती अग्रता उल्टाएर इम्पोलीलाई उसैको मैदानमा हराएको हो । युभेन्ट्सका लागि दुवै गोल रोनाल्डोले गरे । इम्पोलीका फ्रान्सिस्को क्यापुटोले एक गोल फर्काए ।

पहिलो हाफको २८ औं मिनेटमा क्यापुटोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोलीले युभेन्ट्सलाई रोक्न सकेन । खेलको ५४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ७० औं रोनाल्डोले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

जितसंगै युभेन्ट्सले १० खेलबाट २८ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नेपोलीभन्दा ७ अंकले अघि छ । एक खेल कम खेलेको नेपोलीको २१ अंक छ । पराजित इम्पोलीको ६ अंक छ ।