काठमाडौँ । यो पल्ट भ्यालेनटाइन डे अथवा प्रणय दिवस महंगिने भएको छ । नेपाल फूलमा आत्मनिर्भर भइनसकेकाले आयात हुने गुलाबको मूल्य बढेर आउने भनिएको छ । भ्यालेनटाइन डे’का लागि यो पल्ट एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गर्ने तयारी छ । पोहोरको तुलनामा यसपाली गुलाबको आयात बढ्ने बताइदै छ । अर्थशास्त्रकाे नियम हाे, माग बढ्दा मूल्य घट्ने । तर, याे नियम भ्यालेनटाइनकाे गुलाब किन्नेलाई लागूू नहुन सक्छ । किन भने व्यापारीले मूल्य बढाउँदै छन् ।

पोहोर एक करोड २५ लाख मूल्यको गुलाब विदेशबाट आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यो पल्ट पोहोर भन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । भ्यालेनटाइनमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार देशबाहिरबाट ल्याइने र ४० हजार स्टिम नेपालबाटै आपूर्ति हुने बताइको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले गुलाबको अन्तर्राष्ट्रय रूपमा नै मूल्य बढेकाले पोहोरको तुलनामा यसपाली गुलाबको मूल्य बढ्ने बताए । नेपालमा वार्षिक २० करोड रुपियाँको गुलाब कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाबमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

पोहोर प्रतिगुलाब ४० देखि ८० रुपियाँसम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यो वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने एशोसिएशनले जनाएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि भ्यालेनटाइन युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । भ्यालेनटाइन्स डे’को नेपाली उल्था गरेर प्रणय दिवस भन्ने गरिएको छ । अंग्रेजी संवतको फेब्रुअरी १४ तारिखमा यो उत्सव पर्दछ । तर, त्यो दिन आउनु एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन छ । प्रेम जोडीले, प्रेमको प्रतीक मानिले रातो गुलाब यो दिवसमा एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

यस्तै, नेपालमा २००७ साल देखि शुरु भएको पुष्प व्यवसाय पनि शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

गुलाबको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ । व्यावसायिकरूपमा गुलाबका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।

यो वर्षको तिहारका लागि भारतबाट ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । तिहारमा मात्रै एक करोड रुपियाँको फूल कारोबार हुने गर्दछ । यस पटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयात बढेको देखिन्छ ।