काठमाडौँ । अबको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शय्याको स्थापना हुने भनिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि अहिले पालिकामा रहेका सम्भावित स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने कामलाई अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवका अनुसार ती अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक ‘एमडी’ रहनेछन् ।

मन्त्रालयका अनुसार अझै पनि पालिकाअन्तर्गतका एक हजार २०० वडामा कुनै स्वास्थ्य सेवा गर्ने संस्था रहेका छैनन् । स्थानीय तथा प्रदेश तहसँग समन्वय गरी वडा तहबाट स्वास्थ्य सेवा तत्काल शुरु गर्न मन्त्रालयले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी सेवा शुरु गर्ने जनाएको छ ।

अहिले कति पालिकामा १५ शय्याको अस्पताल सञ्चालन छन् ? यसको विवरण मन्त्रालयले सङ्कलन गरिरहेको छ । राज्यमन्त्री डा यादवले भने, ‘पालिकाबाट आएका विवरणका आधारमा कति स्वास्थ्य संस्थालाई स्तरोन्नति आवश्यक हुन्छ जानकारी पाइन्छ ।’

पालिका तहमा अस्पताल सञ्चालन गर्न आर्थिक अभाव रहेको र आवश्यक बजेट अर्थमन्त्रालयसँग माग गरिएको उनले जानकारी दिए । साथै चिकित्सा उपकरण तथा औषधि खरीद प्रक्रियालाई सरल बनाउन सार्वजनिक खरीद ऐन तत्काल संशोधनको आवश्यकता रहेको राज्यमन्त्री डा. यादवले बताए ।

सङ्घीयता कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय अगाडि
सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयअन्तर्गतका संरचना तथा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण तथा प्रत्यायोजन गरेको छ ।

संविधानको अनुसूचीअनुसार मन्त्रालयअन्तर्गतका संरचना तथा विभिन्न ११ वटा अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न सक्नु सङ्घीयता कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयले गरेको उदाहरणीय काम हो ।

राज्यमन्त्री डा यादवले भनेका छन्, ‘यसले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई सहयोग पुग्छ ।’ यसअघि मन्त्रालयले स्थानीय तहलाई संविधानका अनुसूचीले निश्चित गरेका संरचना हस्तान्तरण गरेको थियो । विशेषज्ञता स्वास्थ्य सेवा दिने केही अस्पताल तथा प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयले सङ्घअन्तर्गत राख्ने निर्णय संविधानअनुसार नै गरेको छ ।

मन्त्रालयले साविकका क्षेत्रीय स्वास्थ्य निर्देशनालय, तालीम केन्द्र, मेडिकल स्टोर, उपक्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय, तोकिएका क्षेत्रीय, अञ्चल, जिल्ला अस्पताल, क्षेत्रीय आयुर्वेद चिकित्सालय, अञ्चल आयुर्वेद औषधालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हस्तान्तरण गरेको हो ।