काठमाडौँ । नेपालको बदलिँदो राजनीतिक परिवेश,  तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विकास प्रक्रियाका प्रवृत्ति समेतलाई दृष्टिगत गर्दै अब बन्ने १५ औँ पञ्चवर्षीय योजनाले सहभागीमूलक तथा समावेशी विकास पद्धतिको मूल मर्मलाई व्यावहारिक रुपमा आत्मसात गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल सहभागीमूलक कार्य समूह ‘नेपान’ले दुर्गम भेगमा बसोबास गर्ने नागरिक, बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग तथा अन्य लाभबाट बन्चित समूहलाई विकासको मूलप्रवाहीकरणमा ल्याउनका लागि विशेष जोड दिनुपर्ने सुझाव दिएको हो ।

नेपानका अध्यक्ष चेतनाथ कँडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले योजना आयोगका सदस्य माननीय मीनबहादुर शाही तथा आयोगका अन्य अधिकारीहरूसँगको अन्तक्र्रिया बैठकमा नेपानका तर्फबाट १० बुँदे सुझाव–पत्र प्रस्तुत गरेको थियो ।

भूकम्पपश्चात्को पुनःनिर्माण र विपन्नको आवास कार्यक्रममा शीघ्रता दिनुपर्ने, युवा (स्वयम्सेवा राष्ट्रिय विकास सेवा) कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने, योजना निर्माणको सात चरणको प्रक्रियालाई तल्लोस्तरबाट नै सरोकारवालाको सक्रिय एवम् गुणस्तरीय सहभागिताका आधारमा बढी व्यावहारिक तथा वस्तुगत बनाउनुपर्ने कुरामा पनि आयोगका अधिकारीहरूको ध्यानाकर्षण गरिएको अध्यक्ष कँडेलले बताए ।

आयोगका तर्फबाट सदस्य मीनबहादुर शाही तथा निर्देशक प्रकाश खरेलले प्रस्तुत सुझावहरूलाई आउँदो योजनामा सक्दो समावेश गरिने र योजना निर्माणका विभिन्न चरणमा राष्ट्रियस्तरको एक सरोकारवालाको हैसियतले नेपानको प्रतिनिधित्वसमेत गराइने प्रतिबद्धता व्यक्त गरे ।