काठमाडाैं । सरकारले ‘दूर सञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दुर सञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूर सञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिए।

संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उनले दूर सञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अब त्यसलाई सदुपयोग गरेर अघि बढ्न पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले त्याे कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले विस्तार गर्ने फाइबर, टावर लगायतका काममा निजी क्षेत्रका दूर सञ्चार सेवा प्रदायक संस्थाहरुले पनि लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना पनि सुनाए ।