काठमाडौं । होहल्ला र प्रमुख विपक्षीको विरोधबीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेस सांसदले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिए । कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा लगिदिए । कांग्रेसले अवरोध गर्ने भनेकाले सभामुखले मर्यादापालकको संख्या समेत थपेर तम्तयार राखेका थिए ।

रोष्टममा पुगेपछि मन्त्री पोखरलेले कुनै प्रतिस्पर्धामा वियय प्राप्त गरेर आएझैँ हात हल्लाए । त्यस्तै, खोजिरहेका सत्तारुढ सांसदले ढ्याप ढ्याप गरेर मन्त्री पोखरेललाई अभिनन्दन गरे । खुसीयाली मनाए । मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियो भन्ने प्रस्ताव पेश गरे । तर, विपक्षी नाराबाजी गरिरहे । रोष्टममा जान सकेनन् । भन्याजस्तो नभएपछि विपक्षी दलका सांसद कोही पनि छलफलमा सहभागि भएनन् ।

लगत्तै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव पास भयो । त्यतिन्जेल मन्त्री रोष्टममै अड्किएर बसे । सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरे । तर, सत्तारुढ नेकपाको दुईतिहाईले बहुमतीय प्रक्रियामा चिकित्सा शिक्षा विधेयक पास गरिदियो ।

  

सत्तापक्षीय सांसदः बसीबसी हुन्छ भन्दै/ विपक्षी सांसदः विराेधकैबीच हुन्न भन्दै  

संसदीय प्रक्रियामा प्रतिपक्षीहरू उठ्दा संसद अवरोध गरेको ठहरिन्छ । यस्तो बेला सभामुख महराले प्रतिपक्षी विरोधका लागि ठडिएको देखेनन् । दलीय ह्वीपलाई साथ दिए । जबर्जस्ती चिकित्सा शिक्षा विधेयक टेबल भएको सुनाए । र, विरोध र होहल्लाबीच विधेयक पारित भएको घोषणा गरे । त्यसपछि, प्रमुख प्रतिपक्षी कांग्रेसले यो रबैयालाई सरकारको दुईतिहाइ दम्भ भनेको छ ।