तम्घास । गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घरभित्र चितुवा पसेपछि चितुवा हेर्नेको घुइँचो लागेको छ । इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो । उनी सामान्य घाइते भएका छन् ।

चितुवा घरभित्र पसेको जानकारी पाएपछि बिहान डिभिजन वन कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ । दुईसाताअघि छत्रकोट गाउँपालिका–१ अन्र्तगत हुँगामा पनि दुम्सीलाई थापेको पासोमा चितुवा परेको थियो । जिल्लामा पछिल्लो समयसदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको बताइएको छ ।