काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले डाक्टर गोविन्द केसीमाथि राजनीति गर्ने दिन सकिएको बताएको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएलगत्तै नेकपाका सांसद याेगेश भट्टराईले सञ्चारकर्मीसँग डाक्टर गोविन्द केसीमाथि राजनीति गर्ने दिन सकिएको बताएका हुन् ।

शुक्रबार मात्रै प्रतिनिधिसभाले प्रमुख प्रतिपक्षीको विरोधबीच छलफलविनै चिकित्सा शिक्षा विधेयक पारित गरेको हो । पत्रकारलाई सांसद भट्टराईले विधेयकमा अनसनरत डाक्टर केसीका माग सबै समेटिएको सुनाए ।

उनले भनेका छन्, ‘विधेयक पास गर्ने क्रममा केही तितामिठा कुरा भएका छन् । दुनियाँमा संसदीय अभ्यासको परम्परामा यस्तो हुन्छ । हामी प्रतिपक्षीको विरोधलाई सम्मान गर्छौं । सदनले उहाँहरूको विरोध गर्न पाउने अधिकारलाई रक्षा गर्छ र नेकपाले त्यसलाई सहज रूपमा लिन्छ ।’ उनको विचारमा आधा दशकदेखि छलफल भइरहेको चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हो ।

उनले विधेयक पारित हुँदा डाक्टर केसीको शतप्रतिशत जित भएको जिकिर गरे । तर, विपक्षीले अवरोध गर्दा मर्यादापालकले रोष्टमसम्म लगिदिएका शिक्षामन्त्रीले विजय उत्सव मनाउन भन्दै ‘हाते इसारा’ गरेको तमासा देशवासीले हेरिसकेका थिए । तर, पनि सांसद भट्टराईले केसी अब जिन्दगीभर अनसन बस्नु नपर्ने मिथ्या सुनाउन भ्याए, जोक गरे । आफूसँग भएको सम्झौताअनुसारका व्यवस्था विधेयकमा राख्नु पर्नेलगायत माग राख्दै डाक्टर केसी पुस २५ गते देखि अनसनमा छन् । उनको स्वास्थ्य अवस्था दिनका दिन विग्रिदै गएको छ ।