रसुवा । तातोपानी नाका बन्द भई उत्तरी नाका रसुवागढीबाट चीनसँगको व्यापारिक कारोवार शुरू भएपछि रसुवा भन्सार कार्यालय टिमुरेले करीब १५ अरब राजश्व सार्वजनिक गरेको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार २०७२ साल मङ्सिरदेखि यो आर्थिक वर्षको पुस मसान्तसम्म भ्याटसमेत गरी कूल १५ अरब १२ करोड ६७ लाख राजश्व आर्जन भएकोे छ ।
शनिबार मनाइने ६७औँ विश्व भन्सार दिवस कार्यक्रमबारे जानकारी दिँदै प्रमुख भन्सार अधिकृत खड्काले समयसापेक्ष भन्सारको काममा सुधार गर्न सिसी क्यामरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरक फरक सामान परीक्षणमा खटाइएको, सुरक्षा अङ्ग अहोरात्र परिचालन भएका कारण चोरी निकासी अन्त्य भएकाले राजश्वमा वृद्धि भएको बताए ।
सुधारको प्रयास शुरू भएका कारण गएको आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा यो आर्थिक वर्ष २०७५/०७६ को अवधिमा २५० प्रतिशतले वृद्धि भएको भन्सार कार्यालय टिमुरेले बताएको छ । भन्सार हातामा सामान परीक्षणका लागि ३० जाँचकी नियमित परिचालन भरहेका र परीक्षण गर्दा कुहिने चिजलाई पहिलो प्राथमिकता दिई हेरिने गरेको बताइएको छ । २०७२ वैशाख १२ को भूकम्पको असरले सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरूपमा बन्द भएपछि २०७२ साल मङ्सिर १५ गतेदेखि रसुवागढी नाका पूर्णरूपमा सञ्चालन हुँदा मानवचाप बढ्न गई टिमुरे क्षेत्रका होटल, लज र पसल सञ्चालनमा आएपछि यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको टिमुरे घट्टेखोलाका समाजसेवी सोनावाङ्दी तामाङले बताए ।
यसैबीच, भन्सार कार्यालयले भन्सार दिवसअन्तर्गत शनिबार मनाइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको छ । तय गरिएका कार्यक्रममा शनिबार बिहान रसुवाबाट नेपाल पस्ने पहिलो पर्यटकलाई स्वागत गरिने, रसुवागढीबाट पदयात्रा गर्दै टिमुरे आउने, राजश्व चुहावट रोक्न चेतना जगाउने, भन्सारका विद्यमान ऐननियम दिशाबोध गराउने जस्ता रहेको प्रमुख भन्सार अधिकृत खड्काले जानकारी दिए ।