काठमाडौं । नेपालविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा युएई विजयी भएको छ । नेपालले पहिलो खेल घरेलु टोलीलाई सुम्पिएको छ । योसँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ । युएईले १–० को अग्रता लिएको छ ।

११४ रनको सामान्य चुनौती युएईले ३२ ओभर १ बलमा सात विकेट गुमाएर पार गरेको थियो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।
युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि यी दुई खेलाडीले उकासेका थिए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० रन बनाए भने आरिफले २५ रन जोडे ।

नेपालका कप्तान पारस खड्का २० रनमा आउट भएपछि नेपाल दबाबमा आयो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन– तीन विकेट लिए । तस्वीरः  रमन सिवाकाेटी