मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर आतंक रोक्न पाँच लाख बजेट छुट्याएको छ । गाउँपालिकाको चौथौ सभाले धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि भन्दै पाँच लाख दाउ लगाएको हो । किसानको अन्नपात, फलफूल नास गर्न थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लामै बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट छुट्याइएको हो । कानून अनुसार वन्यजन्तु मार्न पाइँदैन । कानून विपरीत वन्यजन्तुमाथि आक्रमण गर्नु भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगेर कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय गाउँसभाले गरेको छ ।

बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दा समेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नम्बर ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिए । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि यो बजेट कोशेढुंगा हुने र किसानका दुःख हट्ने अपेक्षा गरेको छ ।