काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाँकाल मन्दिर जीर्णोद्धार एवं सामुदायिक कक्ष निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
वैदिक मन्त्रोच्चारणबीच संस्कृतिविद् डा चिन्तामणि योगीले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गरे । उनले पुरातन संस्कृति जर्गेना गर्न सबै एकजुट हुनुपर्ने बताए । पूर्वीय संस्कृति सर्वोत्कृष्ट रहेकाले योगीले यसको संरक्षण गर्नु सबैको कर्तव्य भएकामा जोड दिए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई धार्मिक परिपथको रुपमा विकास गरिने जानकारी दिए । ‘उत्तरगया–गोकर्णेश्वर मन्दिर–चामुण्डा भगवती–महाँकाल भैरव–अर्घौतेश्वर जस्ता प्राचीन मठ–मन्दिर रहेको नगरपालिकालाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने योजना छ’, उनले भने ।
नगरपालिका मातहतको धार्मिक समितिका संयोजक समेत रहेका भागवतवाचक पण्डित दिवाकरप्रसाद भण्डारीले श्रीमद्भागवतको महत्वमाथि चर्चा गरे । उनले अर्थ सङ्कलनभन्दा पनि ज्ञान सङ्कलनका लागि ज्ञानमहायज्ञलाई प्रयोग गर्नुपर्ने बताए ।
वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले महाँकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षको निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी दिए । मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचन कक्ष, यज्ञमण्ड लगायतका लागि ज्ञानमहायज्ञ आयोजना गरिएको स्थानीय सामाजिक कार्यकर्ता राजेश दाहालले बताए ।