दमौली । चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहुँको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’सम्बन्धी पढाई हुन थालेको छ ।

व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी दिने उद्देश्यले पुस्तकको पढाइ शुरु गरिएको व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख अम्बिका आचार्यले जानकारी दिए ।

गत साउनमा बसेको व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका विद्यालयमा व्यासको बारेमा जानकारी दिने पाठ्यक्रम लागू गर्ने निर्णयबमोजिम अतिरिक्त पाठ्यक्रमको रुपमा यससम्बन्धी पढाइ शुरु भएको आचार्यले बताए ।

उनले भने, ‘यस वर्ष कक्षा ११ मा अतिरिक्त पाठ्यक्रमको रुपमा नगरपालिकाका विद्यालयमा महर्षि वेदव्यासको पढाइ शुरु भएको छ, अर्को वर्ष कक्षा १२ मा पनि यसलाई निरन्तरता दिन्छौँ ।’ व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमि यस ठाउँको महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम निर्माण गरिएको उनले बताए ।

उनले भने, ‘व्यास नगरपालिका व्यासको जन्मभूमि तथा पराशरको तपोभूमि भएकाले यहाँका विद्यार्थीले महर्षि वेदव्यास र पराशर ऋषिका बारेमा जानकारी राखेर देश विदेशमा व्याख्या गर्ने सक्ने बनाउने उद्देश्य राखेका छौँ ।’

उनका अनुसार स्थानीय पाठ्यक्रमअनुसार आधारभूत तहमा समेत अतिरिक्त अध्ययनको रुपमा व्यास पराशरको बारेमा अध्ययन शुरु गर्ने योजना बनाइएको छ ।

व्यासका अध्येता काशीनाथ न्यौपानेद्वारा लिखित ‘महर्षि वेदव्यास’ पुस्तकमा व्यासको जन्मभूमि, व्यासको जन्मको विषय, पराशर ऋषिको कर्मस्थल, सत्यवती, दशराज माझीलगायत पात्रहरुको बारेमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरुले उक्त पुस्तक पढेपछि व्यास क्षेत्र र पराशरको बारेमा बुझाउन सक्ने विश्वास लिइएको छ । नगरपालिकाभित्र कक्षा ११ सञ्चालन भएका चौध विद्यालयमा पाठ्यक्रम निर्माण गरेर यस विषयको पढाइ शुरु भएको व्यास नगरपालिकाका स्रोतव्यक्ति नारायणदत्त पौडेलले बताए ।

शैक्षिक सत्र २०७५ बाट कक्षा ११ मा व्यास सम्बन्धी पढाइ थप विषयको रुपमा समावेश गरिएको छ । विद्यालयले सातामा तीन कक्षा ‘महर्षि वेदव्यास’ को पुस्तक अध्यापन गराउने व्यवस्था मिलाएका छन् । कक्षा ११ का लागि तयार गरिएको उक्त पाठ्यपुस्तक विद्यालयमा हुने आन्तरिक परीक्षामा ५० अङ्कको रहने र कक्षा १२ का लागि छुट्टै नयाँ पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ ।

अतिरिक्त विषयको रुपमा अध्ययन शुरु गरिएको उक्त विषयले विद्यार्थीलाई व्यासको बारेमा जानकारी प्रदान गर्नुका साथै व्याख्या गर्न सहयोग पुग्ने दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए ।

श्रीकृष्ण द्वैपायनको २८ औँ अवतारको रुपमा महर्षि वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको धार्मिक किंवदन्ती छ । धार्मिक किंवदन्तीलाई विभिन्न शास्त्रीय प्रमाणले समेत प्रमाणित गरेको व्यासका अध्येता काशीनाथ न्यौपाने बताउँछन् ।

उनका अनुसार महर्षि वेदव्यासमात्रै नभएर व्यासका पिता पराशर र उनकी माता सत्यवतीको समेत दमौलीमा कर्मस्थल भएको धार्मिक किंवदन्तीमा व्याख्या गरिएको छ ।