काठमाडौं । भाषा आयोगले लाेप हुन लागेका भाषा बचाउन ‘य्युसन (अंग्रेजी)’ पढाउन थालेको छ । आयोगले पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालेको हो ।  जंगलमै रमाउने कुसुण्डा जाति पछिल्लो समय साविकका सामान्यजन जस्तै समाजमा घुलमिल भयो । विस्तारै बसाइँसराई, अन्तरजातीय विवाह पनि चल्न थाल्यो । उनीहरूले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनामा सीमित भए । यसरी बिट मर्नैलागेको भाषा कुसुण्डा एउटा मात्रै होईन, योसँगै २९ भाषा संकटमा छन् । तिनलाई बचाउनु पर्ने भन्दै भाषा आयोग जागेको छ ।

देश र देशवासीको पहिचान नै भाषा हो । भाषा कुनै पनि जातिको सभ्यताको परिचायक हो । संस्कारको विम्ब पनि । भाषा बिर्सिनु वा हराउनु त्यो जाति मात्र नभई राष्ट्रकै लागि नोक्सान हो ।  २०६८ को जनगणनाअनुसार नेपालमा एक सय २३ वटा भाषा बोलिन्छ । त्यसमध्ये ३७ भाषा लोपोन्मुख छन् । २९ भाषाका वक्ता एक हजारभन्दा मुनि छन् । तथ्यांक विभागको आँकडामा बराम भाषा बोल्ने जम्मा एक सय ५५ जना मात्रै छन् । तिलुङ एक हजारको हाराहारीमा । र, कुसुण्डा बोल्ने २८ जना छन् ।

पछिल्लो सर्वेक्षणअनुसार कुसुण्डा बोल्ने तीन जना मात्रै रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । बराम बोल्ने ५० को हाराहारीमा छन् भने तिलुङ बोल्ने भने दुई जना मात्रै । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको कुरा सुन्ने हो भने, यी भाषा एक दुई वर्षपछि ईतिहास बन्छन् । उनले भने, ‘यी भाषा संरक्षणका लागि केही नगर्ने हो भने एक दुई वर्षमा लोप भएर जाने खतरा छ । अब यी भाषा नयाँ पिढीलाई हस्तान्तरण गराउने र संरक्षण गर्ने अहिलेको मुख्य चुनौती हो ।’

दाङको लमही नगरपालिकामा कुसुण्डा भाषा पढाइँदैछ । सिक्नेदेखि सिकाउनसम्मका व्यक्ति जुटाउन सजिलो छैन । यो जातिका मानिस विभिन्न ठाउँमा छरिएर बसेका छन् । तिनका केटाकेटी बेग्लाबेग्लै ‘स्कुल’ (अंग्रेजी तर, बोलीचाली) जान्छन् । प्युठानदेखि दाङसम्मका कुसुण्डा जातिका नयाँ पुस्तालाई भाषा सिकाउनकै लागि भनेर स्कुल सारिएको छ । उनीहरूलाई स्रोत साधन उपलब्ध गराउने काम पनि आयोगले नै गरिरहेको छ ।

नयाँ पुस्ता भाषा सिक्न सक्रिय देखिएको छ । रमाइलो के भने, कुसुण्डा भाषा पढाउने मान्छे चैँ गैरकुसुण्डा । उनको नाम उदय आले । यही भाषाकै अध्ययन अनुसन्धानमा सक्रिय उनले शब्दकोष समेत बनाएका छन् । उदयले २० जनालाई अहिले भाषा सिकाइरहेका छन् । बिहान डेढ घण्टाको कक्षा चल्छ । ९० घण्टाको कक्षाबाट साधारण साक्षर बनेपछि मात्रै उनीहरूलाई माथिल्लो कक्षा चढाउने नियम छ ।

आलेका अनुसार आफ्नो भाषामा लेख्न, बोल्न सक्ने बनाउनु र भाषिक जनसंख्या बढाउनु यो कक्षाको मुख्य उद्देश्य हो । लमही नगरपालिकाले उनीहरूका लागि खानेबस्ने व्यवस्था गरिदिएको छ । संसारमा चार परिवारका भाषा छन् । भारोपेली, भोटबर्मेली, द्रविड र आग्नेय । भाषाविज्ञानका यी चारैसँग मेल नखाने अद्भूत भाषा हो कुसुण्डा । त्यसैले राज्यले यसको महत्व बुझेर जोगाउन अत्यन्त जरुरी रहेको भाषा आयोगका अध्यक्ष अवस्थी बताउँछन् ।

नेपाली भाषामा स्वरवर्ण १२ र व्यञ्जनवर्ण ३६ छन् । कुसुण्डामा २५ व्यञ्जन र ६ वटा स्वर वर्ण छन् । कुसुण्डा भाषा सिकाउन जान्ने मान्छेको पनि उस्तै अभाव छ । कक्षामा ८५ वर्षीया ज्ञानीमाया कुसुण्डा पनि सहभागी छन् । उनले स्रोत व्यक्तिलाई सघाइरहेकी छन् ।