काठमाडौं । सरकारले कुनै औपचारिक धारणा बनाउनु अघि नै सत्ताधारी पार्टीका एक अध्यक्ष प्रचण्डले भेनेजुएलाको राजनीतिक संकटबारे वक्तव्य निकालेपछि कुटनीतिक वृत्तमा हलचल मच्चिएको छ ।

वक्तव्यलाई लिएर परराष्ट्र मामिलाका जानकारहरुले प्रचण्डले कुटनीतिक मर्यादा विपरीत अभ्यास गरेको भनी टिप्पणी गरेका छन् । पार्टीको आधिकारिक लेटरहेडमा हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेप भएको भन्दै आफ्नो पार्टी नेकपा भेनेजुयलाका जनताको । पक्षमा रहेको उल्लेख गरेका छन् ।

अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले हस्तक्षेप गरेकाले नेकपा निन्दा गर्दछ, भनेका छन् । तर, परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले सरकारको तर्फबाट अहिलेसम्म कुनै औपचारिक धारणा जारी नभएको बताएका छन् । यस्तै, सत्तारुढ पार्टीको सचिवालयमा समेत यो विषयले अहिलेसम्म प्रवेश नपाएको बताइएको छ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको वक्तव्यबारे बुझेर पछि बोल्ने बताए । उनी स्विजरल्याण्ड गएको बेला प्रचण्डले पार्टीको आधिकारिक लेटरहेडमा वक्तव्य निकालेका थिए । प्रचण्डले भेनेजुएलाको पक्षमा विज्ञप्ति निकालेर नेपाललाई चीन–रुस धुरीमा उभ्याए । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रिय सभाका विपक्षी नेता हुवान गुवाइडोले बुधबार सरकारविरोधी प्रदर्शनका क्रममा आफूलाई राष्ट्रपति घोषणा गरेको केही घन्टामै शक्तिराष्ट्र अमेरिकाले वैधानिकता दिएको थियो । त्यसको विरोधमा नेकपा अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विज्ञप्ति जारी गरे ।

दोस्रो कार्यकालका लागि निकोलस मडुरो निर्वाचित हुँदा विपक्षीलाई दमन गरेको आरोप लागेको छ । भेनेजुएलामा राजनीतिक संकट चुलिँदै गएका बेला अमेरिकासँगै ब्राजिल, कोलम्बिया, चिली, पेरु, इक्वेडर, अर्जेन्टिना र पाराग्वेसमेत मडुरोेको विरुद्ध उभिएका छन् । यो मुद्दामा चीन र रुसले भने मडुरोलाई साथ दिएका छन् । दाहालले अमेरिकी हस्तक्षेपको विरोध गर्दै आफ्नो पार्टी भेनेजुएलाका जनताको पक्षमा रहेको भनेका छन् । परराष्ट्रविदले दाहालको वक्तव्यले नेपाल–अमेरिका सम्बन्धमा असर गर्ने बताएका छन् । परराष्ट्रविद डा. जयराज आचार्यले नेपाल र अमेरिकाको सम्बन्ध व्यापक भएकाले यस्ता विषयमा बोल्दा विचार गर्नु पर्ने बताए । केही हप्ता पहिले मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरी सम्बन्ध विस्तार भएको सन्देश बोकेर आएका थिए ।

परराष्ट्रविद् आचार्यले, ‘अमेरिका र नेपालको सम्बन्ध ज्यादै गाढा छ, कुनै पनि सन्दर्भमा बोल्दा ध्यान नपुगे त्यो प्रत्युत्पादक हुन सक्छ’ भनेका छन् । उनका अनुसार यो मामलामा भेनेजुएलाका जनता विभाजित छन् भने अन्तर्राष्ट्रिय समुदाय पनि विभाजित भएका बेला नेपाल सरकार वा सत्तारूढ दलकै नेताहरुले बोल्दा ध्यान दिनुपर्छ । ‘अमेरिका र नेपालबीचको सम्बन्ध ज्यादै महत्वपूर्ण र प्रगाढ भएकाले आफ्ना खालका धारणा सार्वजनिक गरेर सम्बन्धमा विरोधाभास उत्पन्न गराउनु हुँदैन, त्यसले नेपाललाई फाइदा गर्दैन’, उनले भनेका छन् ।

अमेरिकालगायत केही पश्चिमा मुलुक र संयुक्त राष्ट्रसंघले नेपालको संक्रमणकालीन न्यायबारे प्रस्ट हुन भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रचण्डले निकालेको वक्तव्यलाई अर्को एउटा संयोगका रुपमा समेत हेरिएको छ । अस्ट्रेलिया, जर्मनी, युरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विजरल्यान्ड, बेलायत, अमेरिका र संयुक्त राष्ट्रसंघले संयुक्त विज्ञप्ति जारी गरी संक्रमणकालीन न्याय टुंग्याउन भनेका थिए ।

अब के गर्ने ?
परराष्ट्र मामिलाका जानकार अग्निपुञ्जले सत्तामा रहेका पार्टीले वक्तव्य निकाल्ने सन्दर्भमा निकै सोचविचार गर्नु पर्ने बताए । नेपालमा एउटा वक्तव्य निकालेपछि आएका क्रिया प्रतिक्रियाका आधारमा अर्को वक्तव्य निकाल्ने चलन रहेकोप्रति संकेत गर्दै उनले अब प्रचण्डले नै अर्को वक्तव्य निकाल्न नहुने बताए । किन ? जवाफमा उनले भने, ‘प्रचण्डले नै अब अर्को वक्तव्य निकाल्दा कुटनीतिक वृत्तमा अझ केटाकेटीपन हुन्छ । अब सरकार अथवा सरकारमा रहेको दलका जिम्मेवार व्यक्तिले त्यसबारे प्रष्टिकरण दिनु उपयुक्त हुन्छ ।’

प्रचण्डलाई स्यावासी दिनेलाई नै पचेन
नरेन्द्रजंग पिटर वामपन्थी लेखक हुन् । उनी प्रचण्डको विचार र व्यक्तित्वलाई मान्थे । तर, यो पल्ट प्रचण्डको कुरा उनलाई पनि पचेन । उनले भनेका छन्, ‘नेकपाका अध्यक्ष प्रचण्डको ०६२–०६३ पछि पहिलो राजनीतिक पक्षधारिताको सशक्त विज्ञप्ती दिँदै भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरो सरकारको समर्थन गरे । यसले नेपालको आँउदो राजनीतिक घटनाक्रमलाई समेत असर पार्छ भने हालै अमेरिकी सैन्यगुटको अघोषित ‘पार्टनर’ बनेको ओली सरकारलाई पनि प्रश्नमा उभ्याउनेछ । यसको दुरगामी प्रभाव र असर देखिँदै जानेछन् ।’