एजेन्सी । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ  । यी तीनैवटा एप्स छुट्टाछुट्टै रहनेछन् । तर, तीनै एप्सबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढंगबाट तिनलाई जोडिने बताइएको छ। यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको निजी परियोजना भनिएकाे छ । यसबारे पहिलो पटक न्यूयोर्क टाइम्सलाई जानकारी गराइएको थियो ।

यो लामो प्रकृयाको अन्तपछि एक जना फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ जुन हाल सम्भव छैन ।
सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै यो परियोजना पूर्ण हुने बताइएको छ ।

मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ । उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने छैन ।
एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सकिने छ । यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ । यसबाट विज्ञापनको दायरा बढ्नेछ ।

तर, अझ महत्त्वपूर्ण कुरा चाहिँ यसले फेसबुकको एपहरूलाई एक अर्कोसँग अझ धेरै गाँसिएको बनाउने छ । यसले भविष्यमा सरकार वा नियामक निकायले आवश्यक ठानेपनि फेसबुकको साम्राज्य लाई टुक्र्याउन झन् कठिन बनाउने छ।

एकीकरणका लागि मिहिनेत गर्दै जुकरबर्ग 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकीकरणको योजना अघि बढाउन मिहिनेत गरिरहेका छन् । उनले तीनवटै एपको मेसेजिङ सेवालाई एकीकृत गरेपछि मानिसहरूले ज्यादा समय त्यसमा विताउने अपेक्षा गरेका छन् । तीनवटै एपका प्रयोगकर्ताहरू फेसबुक अन्तरगत रहने र प्रयोगकर्ताहरूको त्यो विशाल संख्याले गुगलको मेसेजिङ सेवा र एप्पलको आइमेसेजसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

”हामी मेसेजिङको उत्कृष्ट अभ्यास र अनुभव निर्माण गर्न चाहन्छौँ। मानिसहरू आफ्ना सन्देशहरू सरल, भरपर्दो, गोप्य र छिटो ढङ्गले पुगुन् भन्ने चाहन्छन्” फेसबुकको एउटा वक्तव्यमा भनिएको छ ।

एकीकृत मेसेजिङ प्रणालीले कसरी काम गर्ला भन्नेबारे निकै धेरै छलफल र बहसहरू भएको थियो भन्ने कुरा पनि सो वक्तव्यमा उल्लेख छ ।

तीनवटै मेसेजिङ एपहरू एउटै प्रणालीभित्र ल्याउने प्रकृया सकिएपछि फेसबुकमा अहिलेभन्दा धेरै परिवर्तनहरू देखिनेछन् । जुकरबर्गको यो अभियानले इन्स्टाग्राम र ह्वाट्सएपमा आन्तरिक कलह निम्त्याएको द न्यूयोर्क टाइम्सको दाबी छ।

गत वर्ष यी दुवै एपका संस्थापकहरूले छाड्नुको पछाडि यो पनि एउटा कारण हुन सक्ने बताइएको छ । प्रयोगकर्ताहरूको विवरण सुरक्षा र तिनको प्रयोग लगायतका विषयमा बारम्बार आलोचित बनेपछि फेसबुकको यस्तो निर्णय आएको हो ।