काठमाडौँ । सरकारले अब ओमानसँग पनि श्रम सम्झौता गर्ने भएको छ । ओमान र युएईसँग श्रम सम्झौताका विषयमा वार्ता गर्न नेपाली टोली त्यसतर्फ गएको छ । आइतबार र सोमबार हुने वार्ताका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली ओमान गएको हो ।
टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौगम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेधी छन् । नेपालले आइतबारदेखि हुने ओमानसँगको छलफलमा नेपाली कामदारको सुरक्षा र शून्य लागतको विषयलाई प्राथमिकता दिनेछ ।

यस्तै कम्पनीमार्फत जाने व्यवस्थामा पनि जोड दिने बताइएको छ । ओमान उड्नु पहिले विज्ञसँग भएको छलफलमा पनि नेपाली टोलीले प्राथमिकताका साथ उठाउनु पर्ने विषयमा सुझाव लिएको थियो । नेपाली कामदारको सुरक्षाको विषयमा कुनै सम्झौता नगर्न भनिएको छ । ओमानसँग श्रम सम्झौताको विषयमा पहिलो पटक छलफल हुन लागेको हो । यसअघि कुनै पनि सम्झौता भएको छैन । नेपाली टोली ओमानसँग छलफल गरेर मंगलबार युएई जाने बताइएको छ । युएईसँग बुधबार र विहिबार छलफल तय भएको छ ।

युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएपनि त्यसलाई परिमार्जन गर्न लागिएको छ । दुई देशबिच श्रम सम्झौताको मस्यौदा आदान प्रदान भइसकेको छ । ओमानभन्दा नेपालले युएईसँग थप सुविधा दिन प्रस्ताव गर्ने बताइएको छ । युएईसँग नेपाली कामदारले पाउने सामाजिक सुरक्षा जानु पहिले तालिम र फर्किंदा पाउने सुविधाका कुरा पनि सम्झौतामा नै राख्न नेपालले प्रस्ताव तयार गरेको छ ।