पोखरा । सहारा क्लब पोखराले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार बढाएको छ । १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपियाँ पुरस्कार पाउने सहाराले जनाएको छ ।

क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि बढाएको जानकारी दिए ।

अघिल्लो संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएको थियो । यसपालीको संस्करण फागुन ९ देखि १८ सम्म हुने भनिएको छ । प्रतियोगितामा ए डिभिजनका क्लब, विभागीय, विदेशी र आयोजकको टोली सहभागि हुनेछन् । विदेशी टोलीको छिनोफानो भइरहेको आयोजक सहाराले जनाएको छ ।

विगतमा १२ दिनसम्म हुने प्रतियोगिताको मिति घटेर यो पल्ट १० दिन कायम गरिएको छ । टोली टुंगो लाग्ने वित्तिकै १२ दिनसम्म पनि हुन सक्ने आयोजकको अनुमान छ । यस्तै, एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । सर्वाधिक गोलकर्ता, अनुशासन पुरस्कारसहित विधागत अन्य पुरस्कार समेत दिने आयोजको योजना छ ।