भरतपुर । भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ ।

परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर धनिकला चियाको चुस्कीसँगै घरको छतमा उक्लिन्छिन् । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा पनि उनलाई आफ्नै पाखुरा चलाउन मन लाग्छ । पौरखमा खुसी लाग्छ । आफूलाई चाहिने तरकारी घरमै उत्पादन गर्ने उद्देश्यले तीन वर्षअघि उनले शुरू गरेको कौसी बगैँचामा पूर्णतः प्राङ्गारिक फलफूल र तरकारी फल्छन् ।

कौसी र छतमा काउली, गोलभेँडा, साग, धनिया, प्याज, लसुनदेखि कागतीसम्म छन् । पुर्खौली घर गुल्मी हो, धनिकलाको । बुढेसकालमा पनि उनको सन्तुष्टिको बेग्लै रस छ । विशेष परिस्थितबाहेक तरकारीको बिरुवा पनि नकिन्ने उनी बाह्रैमास हरियो तरकारी फलाउँछिन् ।

अठहत्तर वर्षको उमेरमा पनि उत्तिकै फुर्तिली धनिकला आफूलाई कामले नै फुर्तिलो बनाएको सुनाउँछिन् । अहिलेसम्म बजारमा लगेर तरकारी बेचेकी भने छैनन् । तर, आफूकहाँ आउने पाहुनालाई मौसमअनुसारको तरकारी र फलफूल कोसेलीको रुपमा दिन भने छुटाउँदिनन् । ‘घरमा आउने कसैलाई पनि खाली हात पठाउँदिन, धनिकला भन्छिन्, ‘घरमा भाडामा बस्ने र छिमेकीलाई पनि तरकारी दिने गरेको छु ।’

आफ्नै घरमा तरकारी फलाउन सबैभन्दा पहिले भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर मल तयार गर्ने गरेको उनी बताउँछिन् । कुनै पनि विषादीको प्रयोग नगरे पनि छतमै तरकारी तयार हुन्छ भन्ने उदाहरण उनले दिएकी छन् ।

‘तरकारीको बीउ ल्याउनेलगायत काममा छोरीले सहयोग गरेकी छ’ उनले भनिन्, ‘छतभरि तरकारी फलाउने काम आफैँ गरेकी हूँ ।’ टोलमार्फत तालीममा सहभागी भएपछि कौसी खेती गर्न प्रेरणा जागेको उनी सुनाउँछिन् ।

‘आफूलाई खान र घरमा आउने पाउनालाई दिन प्रशस्त पुग्छ । तीन वर्षदेखि मैले तरकारीका लागि हाटबजार टेकेको छैन’ उनी छाति फुलाएर भन्छिन् ।

कौसी खेतीका लागि धेरै मिहेनत नचाहिने तर इच्छाशक्ति हुनपर्ने उनको भनाई छ । गफ गरेर अरुको कुरा काट्दै भुल्नुभन्दा यस्तै उत्पादन हुने खालका काम गर्नुपर्ने प्रेष्किप्सन पनि दिन्छिन्, उनी । घरमै हरियोपरियो हेर्दा मनमा आनन्द हुन्छ, उनी थप्छिन्, ‘साँझ बिहान के तरकारी पकाउँ भन्न परेन । भान्छामा भात बसाल्यो तरकारी लिन कौसीतिर पस्यो ।’

चितवनका महत्वपूर्ण सरकारी कार्यालय र सङ्घसंस्था भएको भरतपुरको १० नम्बर वडा अहिले घरैघरले भरिएको छ । खाली जग्गा पाउन मुस्किल छ । खेती गरी जीविका चलाउँछुभन्दा पनि जग्गा पाइँदैन । बजारमा तरकारीको भाउ पनि बढेको बढ्यै छ । त्यसमा पनि ताजा वा रोजे खोजेको जस्तो पाउने कुरै भएन । अनि, पसलेलाई यसमा विषाधी मिसाइएको हुन्छ कि हुँदैन भनेर सोध्नै परेन ।

यस्तो बेला सबैका लागि उपयुक्त विकल्प बनेको छ ‘कौसी खेती’ । ७८ वर्षीया धनिकला यसको उदाहरण हुन् । उनी मात्र होइन, भरतपुरको स्याउली बजार टोल र यस आसपासका क्षेत्रमा पछिल्लो समय कौसी खेती गर्नेको सङ्ख्या बढ्दो छ । कौसी खेतीले प्राङ्गारिक तरकारी मात्र दिएको छैन । भान्साको फोहर पनि घरैमा उपयोग भएको छ ।

शहरमा आफ्नै घर हुनेले कौसी खेती गर्नसके तरकारीका लागि बजारको भर पर्नुपर्दैन साथै स्वस्थ र प्राङ्गारिक तरकारी घरमै फलाउन सकिन्छ । घरमा थोरै मात्र खाली ठाउँ छ भने पनि गमलामा तरकारी लगाएर त्यो जग्गाको सदुपयोग गर्न सकिन्छ । भरतपुर महानगरपालिका र कृषि ज्ञान केन्द्रले पनि शहरी क्षेत्रमा कौसी बगैँचा बनाउन प्रोत्साहन गरिरहेको छ ।

देशैभर विषादी प्रयोग भएका तरकारीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको समाचार आइरहँदा भरतपुरमा भने घर्रैमा अग्र्यानिक तरकारी अभियान शुरु गरिएको छ ।