काठमाडौं । माघे झरीमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ जुटेका अभियानकर्मी बिहान ७ बजेदेखि फोहर टिप्दै थिए । २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।

झरी परेका बेला अभियानर्मीको सङ्ख्या भने घट्ने गरेको छ । झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाई गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गरेका थिए । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधनमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

उक्त महाअभियानको २९८औँ हप्तामा ललितपुरतिरको गुसिङ्गालमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १६ संस्थाका २९० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । डेढवर्ष अघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उनले जानकारी दिए ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५९औँ हप्ता पुग्दा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ र ८ को सीमास्थित नदी किनारमा सफाइ गरिएको थियो । दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाढ्नाका साथै नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

सफाइबाट सङ्कलित तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत सुझाव दिएको थियो । घरकै फोहर व्यवस्थपन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

त्यस अवसरमा नगर उपप्रमुख शान्ति नेपालले यस क्षेत्रको वाग्मतीलाई नमूना बनाउने अभियानमा नगरपालिका लागेको बताए । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २५३ हप्तामा रुद्रनगर टोलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९९औँ हप्ताको सफाइ अभियानमा तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए ।