काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो ।

आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि यो योजना विस्तार गरने लक्ष्य छ । ‘अहिले बैंकक क्षेत्रमा कम व्यापार हुने भएकाले व्यापार बढाउने नै मुख्य उद्देश्य हो, यो समयमा उक्त क्षेत्रबाट कम पर्यटक आउने भएकाले पनि यस्तो योजना ल्याएका हौं । अन्य गन्तव्यमा पनि लैजाने योजना छ’ उनले भने ।

काठमाडौँ–बैंकक उडानका लागि टिकटमा हरेक यात्रुले मूल्य अभिवृद्धि करबाहेक १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ ।

निगमले अहिले विभिन्न आठ गन्तव्यमा भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छ ।