तस्वीर ः ट्वीटरबाट

काठमाडौं । युएईविरुद्धको दोस्रो एक दिवसीयमा नेपाल विजयी भएको छ । पहिलो एक दिवसीयमा ३ विकेटले हारेको नेपाल दोस्रो एकदिवसीयमा १४५ रनले विजयी भएको हो । यो जितसँगै तीन खेलको श्रृंखला १–१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय पर्सि हुनेछ । यो खेलको लयले नेपाललाई श्रृंखला सुरक्षित गर्ने आशा जगाएको छ ।

नेपालले दिएको २४२ रनको चुनौती पछ्याएको यूएई १९ ओभर ३ बलमा अलआउट भयो । उसले त्यो अवधिमा नम्मा ९७ रन बनायो । नेपालका रोहितकुमार पौडेल र सोमपाल कामी चम्किए ।

सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई दबाबमा आयो । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई धरापमा पारे । पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको विकेट लिएका उनले छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए ।

पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी मात्र तोड्नन, एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ अघि बढाए ।  १९औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिए । र, खेल टुंग्याए ।