एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानेडेली राजदूतलाई बर्खास्त गरिदिएका छन् । चीनका लागि क्यानडाका राजदूत जन म्याककुलमले चिनियाँ विशाल टेलिकम ह्वावेइका वरिष्ठ अधिकारीको सुपुर्दगीबारे विवादास्पद टिप्पणी गरेका थिए । सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएलगत्तै राजदूत म्याककुलमले जागिर गुमाएका हुन् ।

म्याककुलमलाई पदबाट के कारणले हटाएको भन्नेबारे प्रधानमन्त्री ट्रुडोले खुलाएका छैनन् । म्याककुलमले मङ्गलवार सार्वजनिक रूपमै अमेरिकाले गरिरहेको सुपुर्दगीको अनुरोधमा गम्भीर त्रुटी रहेको टिप्पणी गरेपछि पछिल्लो विवाद उत्पन्न भएको थियो। अर्को दिन उनले विज्ञप्ति जारी गर्दै आफूले गलत बोलेको भन्दै दुस्ख व्यक्त गरेका थिए। तर, फेरि शुक्रवार उनले अमेरिकाले उक्त अनुरोध त्यागे क्यानडालाई आनन्द हुने बताएका थिए ।

अमेरिकाको अनुरोधमा मङ्ग वान्जूलाई पक्राउ गरेयता चीनको क्यानडासँगको सम्बन्ध बिग्रिएको छ । इरानसँग सम्बन्धी आर्थिक प्रतिबन्धका प्रावधान उल्लंघन गरेको आरोप उनीमाथि अमेरिकाले लगाउदै आएको छ । तर ती आरोप उनले र ह्वावेइले अस्वीकार गरेका छन् ।

चीन र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गर्दा चीनले यसै महिना एक क्यानडेली पुरुषलाई मृत्युदण्ड सुनाएको छ । अन्य दुई क्यानडेलीलाई पनि पक्राउ गरिएको छ ।चीनबारे जानकारहरू भन्छन् यी पक्राउ मङ्गको पक्राउको बदलास्वरूप गरिएका हुन । तर, बेइजिङ्गले त्यसलाई अस्वीकार गरेको छ ।

यसबीच मङ्गको सुपुर्दगीसम्बन्धी अमेरिकाले औपचारिक निवेदन गर्न लागेको ठानिएको छ । चिनियाँ अधिकारीहरूले अमेरिकालाई त्यसो नगर्न भनिरहेका छन् । गत महिना एक क्यानडेली अदालतले मङ्गलाई जमानतमा रिहा गरिदिएको थियो ।