काठमाडौँ । सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक दिवंगत कृष्णमोहन श्रेष्ठले गरेको योगदानको स्मरण गरिएको छ ।  दिवंगत श्रेष्ठ र उहाँकी धर्मपत्नी दिवंगत नुडुप श्रेष्ठको स्मृतिमा कृष्णमोहन–नुडुप प्रतिष्ठानले आयोजना गरेको १६औँ वार्षिक श्रद्धाञ्जलि कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देश र नागरिकलाई केन्द्रबिन्दुमा राखेर दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच निकटता ल्याउन श्रेष्ठको योगदान प्रेरणादायी र अमूल्य रहेको बताए ।

उनले दिवंगत श्रेष्ठ एक उर्जावान्, प्रभावशाली, सालीन र कनिष्टप्रति प्रेमभाव गर्ने व्याक्तित्वको रूपमा रहेको स्मरण गरे । त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले ‘कृष्णमोहन–नुडुप कार्यदक्षता पुरस्कार’ नेपाल प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक विनिता थापा मगर र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक थमानसिंह राईलाई प्रदान गरे । त्यो पुरस्कारको राशि जनही सात हजार रुपियाँ रहेको छ ।

त्यस्तै, महानिरीक्षक खनालले ‘सूर्य रेग्मी उत्कृष्ट अङ्गरक्षक पुरस्कार’ सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द सुवेदीलाई दिनुका साथै दुई जनालाई कृष्णमोहन–नुडुप छात्रवृत्ति वितरण गरे ।

सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत प्रहरी उच्च अधिकारीले दिवंगत कृष्णमोहन र नुडुपप्रति श्रद्धाञ्जलि अर्पण गरे । तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ दम्पतीको १६ वर्ष अघि तत्कालीन विद्रोही माओवादीले राजधानीमै हत्या गरेको थियो ।