काठमाडौं । म्याग्दीमा निर्माणधीन ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना ७१ प्रतिशत पूरा भएको छ । अबको ८ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।

आयोजना व्यवस्थापक विजेन्द्रलाल राजभण्डारीले बाँध, सुरुङ र विद्युतगृहको निर्माण समानरूपमा भइरहेको र बाँध क्षेत्रको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । मुख्य सुरुङको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । २.३ किलोमिटर लामो सुरुङ पूरा हुन अब १ सय ७० मिटर बाँकी रहेको उनले जानकारी दिए ।

आगामी चैतभित्र आयोजनाको मुख्य सुरुङ पूरा गर्ने लक्ष्य छ । २ हजार १ सय ३० मिटर सुरुङ खनिसकिएको आयोजनाले जनाएको छ । निर्माणधीन आयोजना २०७६ भदौमा सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा ६ बैंक तथा वित्तिय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने दाना सबस्टेसनमा जोडिनेछ । दाना सबस्टेसनसम्म आवश्यक ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।