काठमाडौँ । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । कप्तान पारस खड्काले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदले नेपाललाई विजयका लागि बधाई दिएको छ ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले खराब शुरूवात गरे पनि मध्यक्रमका खेलाडीहरूको राम्रो खेलका कारण राम्रो स्कोर बनाउन सफल भएको थियो । युएईले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । दुई रनमा दुवै ओपनर खेलाडी गुमाएको युएईले पहिलो आठ ओभरसम्म प्रत्येक रनका लागि सङ्घर्ष गरेको थियो ।
नेपालका तेज गतिका बलर सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरेका थिए । तर साइमन अनवरले ७० बलमा ८७ रन बनाउँदै युएईको इनिङलाई सम्हालेका थिए । मोहम्मद बूटा खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ३१ रनमा ५९ रन बनाएर अविजित रहे ।
युएईका लागि रन बनाउने अन्य खेलाडीहरूमा सीपी रिजवान (४५), मोहम्मद उसमान (२६) र गुलाम शाब्बर (१८) रहे । नेपाली बलरहरूमध्ये केसी र खड्काले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र कामीले एक–एक विकेट लिए ।