एजेन्सी । प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासूसी गर्न मिल्ने समस्या आइफोनकोे फेसटाइम नामक कुराकानी गर्ने एपमा देखिएको छ । यो समस्या आइफोन उत्पादक एपलले स्वीकार गरेको छ । केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो समेत पठाउने गरेको पाइएको छ ।

समूहमा वार्तालाप गर्दा सो एपले समूहमा निम्ताउने बित्तिकै प्रयोगकर्ताले कल नउठाएपनि आफै मोबाइलको माइक्रोफोनलाई सक्रिय गराइदिने कारणले गर्दा यो समस्या देखिएको हो ।

एपलले यसको समाधानका लागि यहि साता आइफोनको सफ्टवेएर अद्यावधिक गर्ने बताएको छ । अद्यावधिक नभएसम्मका लागि भने एपलले फेसटाइममा एकैपटक दुईजना भन्दा बढि प्रयोगकर्ताले वार्तालाप गर्न मिल्ने सुविधा हटाएको देखिएको छ ।

प्रविधिसम्बन्धि एउटा ब्लगले सार्वजनिक गरेको उक्त समस्या दुबै प्रयोगकर्ताले १२.१ वा त्यो भन्दा नयाँ भर्सनको मोबाइल अपरेटिङ प्रणाली भएको आइफोन प्रयोग गरेको अवस्थामा देखा पर्ने बताइएको छ ।