काठमाडौं । प्रजातन्त्रका निम्ति प्राण आहुति दिने शहीदप्रति सम्मान प्रकट गर्दै वुधबार शहीद दिवस मनाइएको छ । काठमाडौँको शहीद गेटमा औपचारिक श्रद्धाञ्जली सभा गरिएको छ भने, देशभर प्रभातफेरी लगायत विभिन्न कार्यक्रम भएका छन् ।

कठोर राणाशासनविरुद्ध लड्ने शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएपछि यिनै चार शहीदको सम्झनामा हरेक वर्ष सप्ताहव्यापी रुपमा शहीद दिवस मनाउने गरिन्छ । माघ १६ गते देशभर नै औपचारिक कार्यक्रम गरेर शहीद दिवस मनाइन्छ ।

तत्कालीन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकु दोभान, १२ गते धर्मभक्त माथेमालाई सिफल तथा १४ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए ।

यस्तै,, क्रान्तिमा नवयुवकलाई भड्काएर विद्रोह फैलाएको आरोपमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर बन्दी बनाइएको थियो । त्यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको बताइन्छ । तर, त्यसरी शहीद दिवस मनाउन लागेको समाचार समेत प्रजातन्त्र स्थापनापछि मात्रै सार्वजनिक भएको थियो । टंकप्रसाद आचार्य र रामहरि शर्माले कारागारमा शहीद दिवस मनाउन थालेको समाचार गोरखापत्रले २००८ सालमा छापेको थियो ।