काठमाडौं । हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओँठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
शहीदहरुको सम्झनामा भूपि शेरचनले लेखेको यस कविताले शहीदको गरिमालाई झनै बढाएको छ । तर अहिले शहीदको नाममा भएको विकृतिले शहीदको महत्वलाई झनै घटाएको छ ।

२०६२/०६३ सालको को जनआन्दोलनका क्रममा धेरैजना व्यक्तिले देशका निम्ति बलिदान दिएका कारण उनीहरुको शालिक बनाउन सम्भव नभएको साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रश्रित बताउँछन् ।

‘आजभोलि शहीद जसलाई पनि घोषणा गर्ने प्रचलनले शहीदको महिमा घट्दै गएको छ”, उनले भने । जनआन्दोलनपछि शहीद छनोट समितिका संयोजकसमेत रहेका प्रश्रितले नेपाल सरकारले कस्तालाई शहीद घोषणा गर्ने विषयमा मापदण्डसमेत बनाएको छ । तर पछिल्लो समयमा जो सूकैलाई शहीद घोषणा गर्ने परिपार्टीले यसको महत्वलाई घटाएको छ ।

शहीद चन्द्र बयलकोटीकी श्रीमती कल्पना बयलकोटीले आफूले जीवनमा नसोचेको अप्रत्यासित घटना व्यहोरिन्, आफ्नो श्रीमान्को मृत्यु । बयलकोटी २०६२/६३ को जनआन्दोलनमा होमिए । ठमेलमा पसल सञ्चालन गरेर परिवार धान्दै आएका उनलाई त्रिपुरेश्वरमा २०६३ वैशाख ९ गते गोली लागेको थियो । ‘त्यतिबेला छोराछोरी सानै थिए, मलाई श्रीमान्ले कहिल्यै केही दुःख दिनुभएको थिएन । गोली लाग्ने अघिल्लो दिन तैँले धेरै दुःख पाउँछेस् कल्पना भनेर उहाँले भन्नुभएको थियो’, कल्पनाले गहभरि आँसु झार्दै भनिन्, ‘कहिल्यै केही दुःख नदिने श्रीमान्ले किन यस्तो भन्नुभएको रहेछ, भोलिपल्ट श्रीमान्लाई गोली लागेपछि बल्ल उहाँले थाहा पाएँ ।’

वैशाख ९ गते उनीहरुको विवाह भएको नौ वर्ष पुगेको थियो । त्यस दिन विवाहको वर्षगाँठ मनाउने योजना दुबैले बनाएका थिए । जनआन्दोलन चलिरहँदा कल्पनाको मनमा भने वर्षगाँठ मनाउन पाउने वा नपाउने भन्ने सङ्कोच थियो । चन्द्रले भनेका थिए, “जनआन्दोलन भए पनि चिन्ता नगर कल्पना म बेलुका छिट्टै घर फर्कन्छु, राम्रोसँग वर्षगाँठ मनाउनुपर्छ ।”

त्यतिबेला मोबाइलको खासै चलन थिएन, ९ गते राति चन्द्र घर नफर्किएपछि कल्पनाले श्रीमान् ठमेलमा नै साथीको घरमा बस्नुभयो होला भन्ने सोचिन् । घर काठमाडौँकै लामाटार भए पनि उनीहरु शङ्खमूलमा डेरा गरी बस्दै आएका थिए । माइती चाबहिलबाट कल्पनाकी भदैले १० गते फुपाजुलाई गोली लागेको र चाबहिलकै मेडिकल अस्पतालमा उपचार भइरहेको खबर पाएपछि उहाँ श्रीमान्लाई भेट्न आस्पताल पुगे । “त्यतिबेलासम्म घरबाट एक्लै बाहिर ननिस्किएकी मलाई त्यो बाटो धेरै लामो लाग्यो, हुनत त्यतिबेला मलाई धेरै ठूलो समस्या भएर होला त्यस्तो लागेको”, उनले दुखेसो पोखिन् ।

वैशाख १० गते अस्पतालको श्ययामा पुग्दा चन्द्र एमालेका कार्यकर्ता र प्रहरीले निगरानीमा रहेछन् । चन्द्रलाई एकदमै नाजुक अवस्थामा देखेपछि कल्पनाले आफ्नो होसहवास गुमाइन् ।

पछि माइतीको सहाराले उनी आफूलाई सम्हाल्दै गइन् । उनी भन्छिन्, ‘श्रीमान् एकशब्द पनि नबोली बित्नुभयो, उहाँले वैशाख ८ गते भन्नुभएको शब्द मेरो कानमा सधैँ गुन्जिरहन्छ ।’ वैशाख ९ गते अस्पतालमा भर्ना हुनुभएका चन्द्रको वैशाख २० गते निधन भएपछि उनीसहित २१ जनालाई वैशाख २१ गते नै नेपाल सरकारले शहीद घोषणा गरेको थियो ।

आफ्नो श्रीमान्को राजनीतिक योगदानका कारण आफू पनि राजनीतिमा होमिन पुगें । उनी हाल काठमाडौँ महानगरपालिका–४ की महिला वडासदस्य छिन् । “श्रीमान्ले नौ वर्षसम्म दिनुभएको मायाले उहाँ नभए पनि जिन्दगीमा अघि बढ्न साहस मिलेको छ”, उनले भनिन् ।

श्रीमान्को मृत्युपछि उनी माइती नजिकै चाबहिलमा डेरा गरी बसिन् । आमाको सानै उमेरमा मृत्यु भएपछि उनका बुबाले चन्द्रसँग विवाह गरिदिए । “कहिलेकाहीँ कसैको मानसिक सहयोग नहुँदा छोराछोरीसँग रिसाउँछु, कान्छी छोरी मलाई बाबा हुनुभएको भए मम्मीले यस्तो भन्नुहुँदैनथ्यो भन्छे”, उनले भनिन् । माइती र दिदीबहिनीको पूर्णरुपमा सहयोग पाए पनि आफूलाई श्रीमान्को अभाव सधैँ खड्कने उनी बताउँछिन् ।

चन्द्रको मृत्युपछि तत्कालीन सरकारले २१ जना नै शहीद परिवारलाई १०–१० लाख राहत रकम उपलब्ध गराएको थियो । उनको परिवारिक समस्या देखेर तत्कालीन नेकपा (एमाले)ले उनलाई दुई छोरी र एक छोराका लागि वार्षिक सात हजार उपलब्ध गराउँदै आएको छ ।

आफू राजनीतिमा होमिएपछि आर्थिक रुपमा गाह्रो परेको भन्दै उनले भनिन्, ‘वार्षिक सात हजारले मात्र परिवार कसरी धान्नु ?” छोराछोरी पनि कमाउने नभएकाले आफूलाई परिवार धान्न निकै गाह्रो भएको उनको भनाई छ ।

परिवारलाई राहत उपलब्ध गराए पनि २०६२–०६३ सालका वास्तविक शहीदको नाममा शालिकसमेत नबनाएकामा उनको दुखेसो छ । उनी भन्छिन्, ‘मेरो श्रीमान्सँगै निधन भएका शहीदको नाममा शहीद स्मारक बनाएर उहाँहरुलाई वर्षैपिच्छे सम्झनैपर्छ र हामी शहीद परिवारले पनि उहाँहरुलाई माल्यार्पण गर्ने अवसर जुराइदिनुपर्छ ।’

“वास्तविक शहीद परिवारलाई सरकारले सम्मान दिनैपर्छ”, कल्पनाले भनिन् । आफू राजनीतिक जीवनमा लागेर माथि उठ्न सकेको भए पनि अन्य शहीद परिवार अझै खुलेर बाहिर राजनीतिक जीवनमा आउन नसकेको उहाँको भनाई छ । “हाम्रो पीडा त एउटै हो । सायद म माइतीको साथले गर्दा नै यहाँसम्म आउन सकेको होला”, उनी थप्छिन् ‘प्रत्येक शहीद परिवारलाई म जस्तै सम्मानजनक जीवन जिउने अवसर दिनुपर्छ ।”

त्यस्तै काभ्रेपलाञ्चोकस्थित बनेपाका शहीद मुकेश कायस्थको अवस्था अझै दयनीय छ । २०६२ साल चैत २८ गते कन्चटमा गोली लागेर घाइते भएका उनी अचेत भएकै १३ वर्ष बितिसक्यो । तर अहिलेसम्म पनि उनको स्वास्थ्य सुधार नहुँदा परिवार निकै चिन्तामा छ । मुकेशकी आमा मिरा कायस्थ छिन्, ‘हामी भएनौँ भने छोराको स्याहार कसले गर्ला ?’ मुकेशको उपचारका लागि सरकारले मासिक १५ हजार र एकजना बिरामी कुरुवाको व्यवस्था गरिदिँदै आएको छ । गत वर्षदेखि छोराको स्वास्थ्यवस्थामा केही सुधार आए पनि असारदेखि पहिलेकै अवस्थामा मुकेश पुग्नुभएको उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले शहीद परिवार र शहीदको नाममा रहेको गुठीमा बजेट विनियोजन गर्ने उद्देश्य राखेको महानगरका प्रवक्ता ईश्वरमान श्रेष्ठले बताए । जनआन्दोलनमा काठमाडौँभित्र रहेका कति व्यक्ति शहीद छन् भनी तथ्याङ्क नभएकाले उनले परिवारका लागि थप काम गर्न नसकेको जानकारी दिए ।
२०६२–०६३ अघि कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने आधिकारिक तथ्याङ्क गृहमन्त्रालयसँग पनि छैन । गृहमन्त्रालयको तथ्याङ्कअनुसार नेपाल सरकारको निर्णयअनुसार २०६३ जेठ २१ गते २१ जनालाई शहीद घोषणा गरेको थियो । त्यस्तै २०६४ फागुन २१ गते ३६, २०६५ पुस ९ गते छ हजार ३४४ गरी जनयुद्ध र मधेश आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गरेको थियो । त्यसैगरी मधेश आन्दोलनमा ज्यान गुमाउने ६३५ जनालाई २०६५ पुस ९ गते शहीद घोषणा गरिएको थियो । त्यस्तै शान्ति मन्त्रालयको प्रस्तावमा २०६७ असार ९ गते एक हजार ८४० जनालाई शहीद घोषणा गरिएको थियो ।

त्यसैगरी तराई मधेश थरुहट आन्दोलनमा ज्यान गुमाउनेलाई २०७४ माघ ३ गते १९० जनालाई र त्यसकै २२ गते २९७ जनालाई शहीद घोषणा गरेको थियो । जनआन्दोलनमा मृत्यु भएका दुई हजार ८०७ जना सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई यही माघ १५ गते शहीद घोषणा गरेको छ ।